ओलीको गृहस्थान गुण्डुबाट एमाले परित्याग गरी दर्जन नेता कार्यकर्ता नेकपामा समाहित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहस्थान गुण्डुबाट एमालेका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टिका तथा खादा ग्रहण गर्दै भक्तपुरको बालकोट–२ वडाबाट आएका विभिन्न नेता तथा कार्यकर्ताहरू एकता अभियानमा सहभागी भएका हुन्।
एकता अभियानअन्तर्गत ने.क.पा. एमाले बालकोटका नेता तथा वडा अध्यक्षका उम्मेदवार क. रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. डि.के. रोसन सहित सूर्यविनायक क्षेत्रका सक्रिय नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा क. ईश्वर सिलवाल, क. हरि बास्कोटा, क. भाइ कृष्ण श्रेष्ठ, क. अमृत सिलवाल, क. कृष्ण सिलवाल, क. विकास खत्री, क. दीपक खत्री, क. धुर्व के.सी., क. रुकुश वेकाजु, क. सुदिप प्रजा, क. कृष्णशरण लामिछाने लगायत रहेका छन्।
नवप्रवेशीहरूले एमाले वैचारिक रूपमा विचलित हुँदै भ्रष्ट र दलालहरूको पार्टी बन्दै गएको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलनको एकता, वैचारिक दृढता र जनताको पक्षमा संघर्ष गर्न नेपाली कम्युनिस्ट पार्टी रोजेको बताएका छन्।
कार्यक्रममा पार्टी नेतृत्वले नवप्रवेशी सम्पूर्ण कमरेडहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सहभागिताले पार्टी र समग्र कम्युनिस्ट आन्दोलन अझ सुदृढ, संगठित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
टिप्पणीहरू